June 17, 2025
भूकम्पले चर्किएको भवनमा पढ्ने बाध्यता हट्यो, सुनिपिपल चौर माविमा नवनिर्मित भवन हस्तान्तरण
नेपाल प्रेस

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–७, सुवेडास्थित सुनिपिपल चौर माध्यमिक विद्यालयका विद्यार्थीहरू विगत केही समयदेखि भूकम्पले क्षति पुर्याएको जीर्ण भवनमै जोखिम मोलेर अध्ययन गर्न बाध्य थिए। २०८० साल असोज १६ गतेको विनाशकारी भूकम्पले विद्यालयका तीन वटा भवनमा रहेका १५ कक्षाकोठा प्रयोग अयोग्य भएपछि शिक्षण सिकाइ समस्या पैदा भएको थियो ।
एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरिएको संरचना भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, छात्रामैत्री र बालमैत्री रहेको प्रगतिशील युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले जानकारी दिए। उनका अनुसार विद्यालय भवन निर्माणमा रु ७६ लाख ८२ हजार ४१३ रुपैयाँ ५४ पैसा र शौचालय निर्माणमा रु १२ लाख ९४ हजार २४९ रुपैयाँ ४३ पैसा खर्च भएको छ। विद्यालय भवन ुविद्यालय शिक्षामा उत्थानशीलता प्रवद्र्धन परियोजनाु अन्तर्गत र शौचालय समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत निर्माण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले भूकम्पपछि पठनपाठनमा निकै कठिनाइ भोग्नु परेको उल्लेख गर्दै जापानी नागरिक लिलिकोको व्यक्तिगत सहयोगमा निर्माण भएको भवनले विद्यालयलाई ठूलो राहत मिलाएको बताए।
विद्यार्थी आयुसा सुवेदीले वर्षौंदेखि जीर्ण र असुरक्षित संरचनामा अध्ययन गर्नुपरेको बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरिन्।
हस्तान्तरण कार्यक्रममा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले नव निर्मित संरचनाको संरक्षण, मर्मत तथा सदुपयोगमा विद्यालय समुदायले गम्भीरता देखाउनुपर्नेमा जोड दिए। वल्डभिजन जापानकी प्रतिनिधि सात्सुकी हिराइले शिक्षक तालिमदेखि गुणस्तरीय शिक्षासम्मका पहलमा संस्थाको निरन्तर सहयोग जारी रहेको उल्लेख गर्दै संरचनाको नियमित संरक्षणका लागि आग्रह गरिन्।
जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै स्थानीय सरकार सधैं संघसंस्थासँग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन स्थानीय, संघीय र अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको बताउँदै यस्ता सहकार्यले दुर्गम विद्यालयहरूमा सुधार ल्याउने विश्वास व्यक्त गरिन्। साथै, उनले निर्माण सम्पन्न संरचनाको नियमित मर्मत तथा गुणस्तरीय प्रयोगमा सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।