June 15, 2025
जापानी नागरिकको ८० लाख सहयोगमा विद्यालय भवन निर्माण
बझाङ — भूकम्पले क्षतिग्रस्त बनेको बझाङको एक विद्यालय भवन जापानी नागरिकको सहयोगमा पुननिर्माण गरिएको छ । जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपल चौर माध्यामिक विद्यालयको भवन जापानी नागरिक लिलिको व्यक्तिगत सहयोगमा पुननिर्माण गरिएको हो ।
नवनिर्मित दुई तलाको चार कोठे पक्की भवन र तीन कोठे शौचालय भूकम्प प्रतिरोधी, अपाङ्गता मैत्री, छात्रामैत्री र बालमैत्री हुने गरी निर्माण गरिएको छ । विद्यालय भवनको निर्माण ७६ लाख ८२ हजार ४१४ र शौचालय निर्माणमा १२ लाख ९४ हजार २४९ रुपैयाँ गरी ८९ लाख ७६ हजार ६६३ खर्च भएको पुर्ननिर्माणमा समन्वय गरेको स्थानीय गैरसरकारी संस्था प्रगतिशील युवा समाजले जानकारी दिएको छ ।
विद्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले २०८० असोज १६ गतेको भूकम्पले विद्यालयका तीन भवनका १५ कक्षाकोठा क्षतिग्रस्त भएपछि टहरामा पठनपाठन गर्नुपरेको बताए । ‘टिनको टहरामा पानी र हावाहुरीका बेला पढाएको सुनिदैन थियो । गर्मी र जाडोमा पनि निकै सास्ती हुन्थ्यो,’ जोशीले भने, ‘नयाा भवन र शौचालय बनेपछि हामीलाई ठूलो राहत भएको छ ।’ विद्यालयले सहयोगी जापानी नागरिकको सम्मानमा नवनिर्मित भवनको नाम लिलिको ब्लक राखेको उनले बताए ।
छात्रामैत्री शौचालय समेत निर्माण भएकोमा यहाँका छात्रा झन् खुशी भएका छन् । ‘छात्रा र छात्रले प्रयोग गर्ने शौचालय एउटै हुँदा निकै समस्या थियो,’ विद्यार्थी आयुसा सुवेदीले भनिन्, ‘अहिले छात्राका लागि छुट्टै शौचालय बनेको छ । महिनावारी हुादा प्याड चेन्ज गर्न पनि सजिलो भएको छ ।’ विद्यालय निर्माणमा समन्वय गर्ने संस्था प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले विद्यालयले हस्तान्तरण गरिएका संरचनाको संरक्षण र मर्मतमा ध्यान दिनुपर्ने बताए ।